चितवन बारिस्टा एकेडेमीद्वारा आयोजित ल्याटे आर्ट प्रतियोगिता सम्पन्न, हिमाल विक प्रथम
भरतपुर, चितवन, असोज २८। चितवन बारिस्टा एकेडेमीको आयोजनामा भरतपुरमा ‘इन हाउस ल्याटे आर्ट कम्पिटिसन २०२६’ सम्पन्न भएको छ। प्रतियोगितामा चितवनका विभिन्न स्थानबाट २४ जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो।
कफी तथा क्याफे व्यवसायको विकास, प्रवर्द्धन र विस्तार गर्ने, युवाहरूलाई कफी व्यवसायप्रति आकर्षित गर्ने तथा व्यावसायिक सीपको विकासमार्फत आत्मनिर्भर र स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रकाश श्रेष्ठको संयोजकत्वमा सम्पन्न प्रतियोगितामा बारिस्टा प्रशिक्षकद्वय सोनिमा श्रेष्ठ र अस्मिता श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए। निर्णायकहरूले प्रतिस्पर्धीहरूको ल्याटे आर्ट बनाउने सीप, सिर्जनशीलता, प्रस्तुतीकरण तथा कलात्मक क्षमताका आधारमा मूल्याङ्कन गरेका थिए।
प्रतियोगितामा हिमाल विकले प्रथम स्थान हासिल गर्दै नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै, सृष्टि गुरुङले द्वितीय स्थान हासिल गर्दै दुई हजार पाँच सय रुपैयाँ र रोशन तामाङले तृतीय स्थान हासिल गर्दै एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। विजेताहरूलाई नगद पुरस्कारसँगै प्रमाणपत्र तथा कफीसम्बन्धी उपकरणसमेत प्रदान गरिएको थियो।
कार्यक्रमका संयोजक प्रकाश श्रेष्ठले यस्ता प्रतियोगिताले युवाहरूमा रहेको प्रतिभा पहिचान गर्न, व्यावसायिक सीपको विकास गर्न तथा कफी व्यवसायप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
चितवन बारिस्टा एकेडेमीले कफी संस्कृतिको प्रवर्द्धन, दक्ष बारिस्टा जनशक्ति उत्पादन तथा युवाहरूलाई स्वदेशमै स्वरोजगार र उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्यले विभिन्न तालिम तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा व्यावसायिक प्रतियोगितालाई निरन्तरता दिँदै चितवनलाई कफी तथा हस्पिटालिटी क्षेत्रको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास गर्न योगदान पुर्याउने एकेडेमीको लक्ष्य रहेको छ।





प्रतिकृया दिनुहोस