आरुघाटमा एक साताभित्र बेलिब्रिज जडान गरी यातायात खुलाउने तयारी

बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको मुख्य पक्की पुल बगाएपछि अवरुद्ध यातायात सञ्चालनका लागि अस्थायी बेलिब्रिज निर्माणको काम अघि बढाइएको छ । सरकारले दशैँको टीकाअघि अर्थात् अबको एक साताभित्र बेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री बोकेका सात ट्रक निर्माणस्थलमा पुर्‍याइसकिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाबाट पठाइएका सामग्री गोरखा बजार हुँदै आरुघाट पुर्‍याइएको हो ।

बुढीगण्डकी नदीमा आइतबार आएको आकस्मिक बाढीले आरुघाट गाउँपालिका–९, नयाँ पुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एउटा खण्ड बगाएको थियो । पुलका तीन खण्डमध्ये २२ मिटर लामो आरसीसी भाग बगाएपछि दुई जिल्लाबीचको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो ।

उत्तरी गोरखाको सिर्गी हिमाल क्षेत्रमा पहिरो गएर नदी थुनिएपछि एक्कासि आएको बाढीले पुलमा क्षति पुर्‍याएको थियो ।

बेलिब्रिज निर्माणका लागि आजदेखि जग खन्ने र ढलान गर्ने काम सुरु गरिने जनाइएको छ । पुल जडानको काम नेपाली सेनाको प्राविधिक टोलीले गर्नेछ ।

पुलको ६० मिटर लामो ट्रस संरचना सुरक्षित रहेकाले त्यसमा थप संरचना जोडेर अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

सडकखण्ड अवरुद्ध हुँदा गोरखाका आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकाका साथै धादिङको सल्यानटार क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् । बेलिब्रिज निर्माण सम्पन्न भएपछि यस क्षेत्रको यातायात पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस
↑