बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मंगलबार साँझ बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै दुर्घटना भएको हो । डुंगामा २० जनाभन्दा बढी सवार रहेको बताइएको छ । मृतकमा अधिकांश बालबालिका रहेको जनाइएको छ ।
डुंगामा सवार व्यक्तिहरू भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ । नदीमा डुंगा पल्टिएपछि घटनास्थलमा पुगेको स्थानीय प्रहरी र प्रशासनको टोलीले उद्धार अभियान सञ्चालन गरेको थियो ।
दुर्घटना के कारणले भएको हो भन्नेबारे भने खुल्न सकेको छैन ।
बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् । उनले उद्धार कार्यलाई तीव्रता दिनुका साथै घाइतेको उचित उपचारको व्यवस्था गर्न प्रशासनलाई निर्देशन दिएका छन् ।
बिहारका पूर्वउपमुख्यमन्त्री तथा राघोपुरका विधायक तेजस्वी यादवले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले स्थानीय बासिन्दा, प्रशासन तथा सम्बन्धित अधिकारीसँग कुराकानी गरी उद्धार र उपचार कार्यलाई तीव्रता दिन आग्रह गरेको बताएका छन् ।
त्यस्तै, केन्द्रीय मन्त्री चिराग पासवानले पनि दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आफ्नो संसदीय क्षेत्रअन्तर्गत पर्ने राघोपुर दियारा क्षेत्रमा भएको दुर्घटनाका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र घाइतेको उपचारमा विशेष ध्यान दिन सम्बन्धित अधिकारीलाई आग्रह गरेको उनले बताएका छन् ।





प्रतिकृया दिनुहोस